Thursday, May 24, 2018
Home > विचार/अन्तर्वार्ता > मधेस अझै निर्णायक शक्ति

मधेस अझै निर्णायक शक्ति

– दिनेश यादव

प्रदेश दुईमा स्थानीय तहका लागि तेस्रो चरणको चुनाव सम्पन्न भई विभिन्न दलका निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो पदभार ग्रहण गरिसकेका छन् । अन्य प्रदेश र चरणको तुलनामा प्रदेश दुईको चुनाव शान्तिपुर्ण रहयो । त्यस क्षेत्रका जनता धेरै पहिलेदेखि मतदानका लागि आतुर थिए । तर, केही राजनीतिक दाउपेचका कारण प्रदेश दुईको निर्वाचनमा ढिलाई भएको थियो । ढिलाई हुनु या गराउनुका पछाडि धेरै कारणहरु छन, ती सबै ज्यूँकात्युँ रहेका छन् । अर्थात् मधेस मुभमेन्टले उठान गरेका मुद्दाहरु अझैपनि संवोधन हुन नसकेको गुनासाहरु त्यस क्षेत्रका बासिन्दा, नागरिक समाज र राजनीतिक दलहरुको छ । प्रमुख दलहरु भने यसलाई मान्न तयार छैनन् । तिनीहरुले मधेसको सबै माग संवोधन भई सकेको दाबी गर्दै आएका छन् । पछिल्लो चुनावमा जनताको उत्साहजनक सहभागितालाई तिनीहरुले त्यसको प्रमाणका रुपमा प्रस्तुत गरिरहेका छन् । तर यथार्थ त्यो हैन । दुई दशकसम्म स्थानीयतह जनप्रतिनिधिविहिन रहनु, विकासनिर्माणमा भ्रष्टाचार मौलाउनु, सबै क्षेत्रमा बेथितिहरु बढ्नु र प्रमुख दलहरुलाई जनादेश मार्फत आफ्नो सन्देश प्रवाह गर्नका लागि चुनावमा मधेसी जनताको उल्लेख्य सहभागिता भएको हो । तिनीहरुको उक्त सहभागिताले प्रमुख दलहरुप्रतिको आफ्नो असन्तुष्टि अझै कायमै रहेको कुरा निर्वाचन परिणामले पनि देखाएकै छ ।

बिना जनाधारको दलगत रुपमा स्थानीय तहको सीमांकन र नामांकन गर्दा पनि प्रमुख दलहरुको आकारलाई खुम्च्याउन प्रदेश दुईका जनता सफल भएको देखिन्छ । भलै कांग्रेस त्यहाँ सर्वाधिक स्थानमा जीत हासिल गरेपनि मधेस केन्द्रित दलहरुको कुल संख्यालाई हेर्ने हो भने त्यो ठूलो छ । अझ रोचक कुरा त के रहयो भने अधिकांश नगरपालिका र बजार क्षेत्रमा मधेसी दलहरुको प्रदर्शन राम्रो देखिएको छ । एउटा मात्रै महानगरपालिका वीरगंजमा मधेसी दलको जीत,जनकपुर उप–महानगरपालिकामा अध्याधिक मतान्तरबाट मधेसी दलकै उम्मेदबार जित्नुलगायतलाई उदाहारणका रुपमा लिन सकिन्छ । गाउँपालिकाहरुमा पनि जहाँका जनता सजग र संचेत छन्, त्यहाँ पनि मधेस केन्द्रित दलहरुकै बिजय भएको छ । फेरी जुन–जुन ठाउँमा प्रमुख दलहरुका उम्मेदबारले जितेका छन, त्यहाँ झिनो मतअन्तरले मधेसी दल पछि परेका थिए । खासगरि नेपाली कांग्रेस र एमालेका उम्मेदारको सन्दर्भमा यस्तै देखिएको छ । माओवादी केन्द्रको प्रदर्शन सबैभन्दा कमजोर देखियो । प्रदेश दुईको चुनावमा प्रमुख दलहरुको मानसिकतालाई पछ्याउदा केही स्थानमा मधेसी दलहरुले पराजय बेहोरे । खासगरि जातिय भोटबैंकको राजनीतिले यो स्थिति देखिएको हो । अबको निर्वाचनमा यस्तो हुनु हुँदैन । असल र सक्षम व्यक्तिलाई मधेस केन्द्रित दलहरु एकिकृत भई उम्मेदबार बनाउन सके धेरै स्थानमा जीत हासिल गर्न सक्ने संभावना जीवित छ ।

यसैगरि प्रदेश दुईको चुनाव परिणामले नेपालको राजनीतिमा एउटा तरंग सिर्जित गर्दै बाहय शक्ति केन्द्रहरुलाई एकाएक आमने–सामने ल्याई दिएको छ । त्यसैको परिणाम हो प्रमुख दलहरुदेखि मधेस केन्द्रित दलहरुलाई एकै ठाम आउँनु, गठबन्धन बनाउनु र एकिकरणको मार्गमा अग्रसर हुनु । कुनै चमत्कारिक दैविक शक्तिकै कारण ‘बाम एक ठाम’ र ‘लोकतान्त्रिक शक्ति एक ठाम’ भएका होइनन् । नेपालमा विभिन्न राजनीतिक शक्तिहरु रातोरात ध्रुब्रिकृत हुनुको पछाडि अन्य विभिन्न कारणहरु भएपनि ‘मधेस अझै नेपालको राजनीतिमा निर्णायक नै रहेको’ पनि एक हो । प्रमुख दलहरुले मधेसलाई आठ जिल्लामा खुम्च्याउँदा पनि उसको ताकत र बल धेरै नै रहेको पछिल्ला राजनीतिक घटनाक्रमले पनि प्रष्टिएको छ ।

नेपालको राजनीतिमा ‘साउथ ब्लक’ आफ्नो स्वार्थ अनुरुपको ‘स्पेस’ खोजीमा धेरै पहिलेदेखि सक्रिय रहेकै थियो र छ । तर ‘नोर्थ ब्लक’ को सक्रियता पनि अब नेपालमा कम आंकलन गर्ने स्थिति रहेन । यी दुई ब्लकहरुको सक्रियताले दलहरुको संख्या सांगुरिदै जानुलाई सकारात्मक रुपमा लिन सकिन्छ । यसो हुनुलाई धेरैले ‘थ्रेसहोल्ड’ प्रभाव भने पछि त्यो मात्रै कारण अब चाही हैन भन्न सकिने अवस्था छ । धेरैले अब नेपाल अमेरिकामा जस्तै दुई दलिय प्रणालीतर्फ अग्रसर भईरहेको ठोकुवा गर्न भ्याई सकेका छन् । केहीले भने अब पहाडी–हिमाल र तराई–मधेसबीच जमेर ध्रुबिकरण हुने संभावना व्यक्त गरेका छन् । यो संभावनालाई स्थानीय तहको निर्वाचन परिणामहरुले थोर बहुत पुष्टि गरेको जस्तो देखिन्छ । पहाडी–हिमाली बहुल क्षेत्रमा एमाले र माओवादी केन्द्रको प्रदर्शन राम्रो देखिनु र मधेसीसहितको मिश्रित समुदाय बहुल क्षेत्रमा कांग्रेसको उपस्थिति देखिनुले पनि नेपाली समाज फेरी तीब्र ध्रुबिकरण उन्मुख रहेको ठम्याउन सकिन्छ । पहाडमा एमाले÷माके र तराईमा कांग्रेसले बढी मत र स्थान पाउनु त्यसैको त परिणाम हो । यी तीन दलहरु आ–आफ्ना आधार केन्द्रहरुमा केन्द्रित हुँदै विगतमा गरेका निर्णयहरुले पनि यो कुरोलाई केही पुष्टि गरेकै छ । मधेसी दलको आधार केन्द्र त मधेस हुँदै हो । अब मधेसी दलहरु पनि गठबन्धन बनाएर अघि बढेका छन् । यो राम्रो र सकारात्मक संदेश हो । यसले अगामी दिनहरुमा मधेसलाई शक्ति संचय गर्न महत्वपूर्ण योगदान पुर्याउने निश्चित छ ।

राजनीतिमा जनप्रतिनिधिको महत्व धेरै हुन्छ । अझ लोकान्त्रिक या प्रजातान्त्रिक मुलुकमा जनताद्वारा छानिएका व्यक्ति वा नेतृत्वको महत्व झनै बढी हुने गर्छ । तर नेपालको सन्दर्भमा बहुदलीय पद्धति यहाँ कायम भएपनि सीमित दलका सीमित व्यक्ति÷नेतृत्वको मनोगत सोच र दृष्टिकोणले मुलुकको राजनीतिक अवस्था संधै तरल रहदै आएको एउटा यथार्थ नै हो । बहुदलीय व्यवस्थामा जति धेरै दल भयो त्यती राम्रो कि थोरै दल तर ती दलहरुभित्रै धेरै दलपतिहरु बन्ने होडबाजी हुनु राम्रो भन्ने प्रश्न पनि छ । फेरी ती दलपतिहरु दलिय प्रतिनिधिबाट चुनिएका हुन्छन । पार्टी पद्धतिमा यो स्वाविकै भएपनि पार्टीगत प्रतिनिधिको हैसियतमा रहेपनि जनप्रतिनिधिहरु आफ्ना मतदाताप्रति चाही इमान्दार हुनै पर्छ । तर नेपालमा त्यस्तौ परिपाटी अझै विकसित हुन सकेको छैन । अमुक दलमा रहेका केही झुण्डहरुको नेतृत्व गर्नेको इसारामा जनप्रतिनिधि चल्नुपर्ने अवस्था यहाँ छ । ‘हुन्छ भने हुन्छ भन्नुस’ र ‘हुदैन भने हुदैन भन्नुस’ मा सीमित छन, हाम्रा जनप्रतिनिधिहरु । भोट माग्दा एउटा भूमिका र जिम्मेबारी निर्वाह गर्ने बेला अर्को भूमिकामा देखिने गरेकाले अबको निर्वाचनमा जनताले त्यसको विश्लेषण गर्दै मतदान गर्न र प्रतिनिधि छनौट गर्न अग्रसर हुनु पर्छ । खासगरि मधेसी जनप्रतिनिधिहरुको भूमिमा संधै निस्क्रिय झै देखिने गरेको छ । आफ्नो मतदाताको माग , चाहना र आकांक्षा अनुरुप चल्न नसक्नेलाई जनप्रतिनिधिमा छनौट गर्नु जस्तो मुर्खाइ अब चाही कहीको पनि जनताले गर्नु हुदैन । कांग्रेस, एमाले र माकेमा रहेका मधेसी जनप्रतिनिधिको हैसियत कहिले पनि मधेसमैत्री देखिएको छैन । त्यसैले मधेसमैत्री जनप्रतिनिधको छनौटमा अब मतदाताहरु चुक्नु हुँदैन ।

जहाँसम्म मधेस केन्द्रित दलको कुरो छ, तिनीहरु एकिकृत र एकढिक्का भई बिना कुनै आग्रह÷पूर्वाग्रहका साथ अघि बढ्नु नै आजको आवश्यकता बनेको छ । हरेक मानिसको व्यक्तिगत चाहना र आकांक्षा पक्कै छन, होलान । तर, त्यो भन्दा पहिले आफ्नो देश, समाज र क्षेत्रलाई सर्वोपरि ठान्दै राजनीति गर्नुपर्छ । व्यक्तिगत स्वार्थ भन्दा धेरै माथि सामुहिक कर्म हुने भएकाले राजनीतिमा लागेकाहरुले यो सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्नु पर्छ । राजनीतिक संस्कार र यसका सैद्धान्तिक मान्यता र आचरणको अधिनमा रहेर अघि बढेको खण्डमा कुनैपनि व्यक्ति राजनेताको हैसियतमा आफूलाई पुर्याउन सक्छन् ।

अन्त्यमा, पहिले छ–छ दल एक भएर दुईटा जति दलहरु संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता दल नेपाल बन्यो । अब यी दुई दल मिलेर एक बन्न सक्नु पर्छ । आन्दोलनका माग, मुद्दा र अडान एकै भएपछि अगलै वस्नु पर्ने अवस्था किन ? त्यसैले विगतमा प्रमुख दलहरुले मधेसीसंग गरेका जालझेल र षडयन्त्रको चिरफार गर्दै बढी भन्दा बढी जनप्रतिनिधिलाई निर्वाचित गराउनेगरि मधेस केन्द्रित दलहरु अग्रसर हुनैपर्छ । द्रव्य मोह र बाहिरी शक्तिको दबाब÷प्रभावको वेवास्ता गर्दै स्वाभिमानी नेता र नेतृत्वको भूमिका निर्वाह गर्नु पर्ने आजको आवश्यकता हो । राजनीति र सत्ता एक अर्काका पुरक भएकाले राजनीति गर्नेहरु सत्ताको लोभ गर्नु अस्वभाविक हैन । तर सत्ताको दुरुपयोग गर्नु चाही गलत हो । अगामी निर्वाचन मधेसी दलहरुका लागि रणनीतिक र सामरिक महत्व छ । यो एउटा अवसर पनि हो । विगतमा भएका गल्तिका कारण प्राप्त उपलब्धिहरु गुमेकाले त्यसलाई फर्काउन पनि एकजुटताका साथ मैदानमा उत्रिन अब कुनै कसर बाँकी राखिनु हुन्न । सेप्टेम्बर युद्ध त मधेसी दलहरुले जितेकै छन । अब अन्य दुई युद्ध पनि जित्ने हैसियतका साथ अगाडि बढ्नु पर्छ ।

Leave a Reply