Thursday, May 24, 2018
Home > विचार/अन्तर्वार्ता > “लोकतान्त्रिक गठबन्धनमा राजपाको सहभागिता कांग्रेसको उदारतामा भर पर्छ”

“लोकतान्त्रिक गठबन्धनमा राजपाको सहभागिता कांग्रेसको उदारतामा भर पर्छ”

[divide margin_top=”2pt” color=”#dd3333″]

राकेश  मिश्र

सह-महासचिव, राजपा नेपाल

[divide margin_top=”0″ margin_bottom=”2pt” color=”#dd3333″]

विद्यार्थीकालमा राजनीतिमा होमिएर पनि पत्रकारिता क्षेत्रलाई अँगाल्दै पुनः सक्रिय राजनीतिमा प्रवेश गरेका राकेश मिश्र राजपा नेपालका युवा नेता तथा सह–महासचिव हुन् । आगामी निर्वाचनमा सर्लाही–४ बाट प्रत्यक्ष उम्मेदवारका रुपमा उम्मेदवारी दिने तयारीमा रहेका मिश्र उम्मेदवारी पाए सजिलै जित्न सक्ने दावी गर्छन् । प्रस्तुत छ, उनको उम्मेदवारी, राजपाको भावी कार्यदिशा तथा मुलुकको समग्र राजनीतिका विषयमा उनीसँग गरिएको कुराकानीको संक्षिप्त अंश :

  • तपाईं कसरी राजनीतिमा लाग्नुभयो ?

एसएलसीको परीक्षा दिएर परिणाम पर्खेको समयमा २०४६ सालको लोकतान्त्रिक आन्दोलन चलेको थियो । सोही आन्दोलनमा विद्यार्थीको नेतृत्व गरी सहभागी हुँदा प्रहरीले पक्राउ गरेको थियो । मेरो राजनीति त त्यहींबाटै शुरु भएको हो । त्यसपछि सद्भावना मञ्चको सर्लाही जिल्लाको विद्यार्थी संगठनको जिल्ला अध्यक्ष पनि बनें । करिब ८ वर्षजति विद्यार्थी राजनीतिमा सक्रिय भए पछि म पत्रकारिता क्षेत्रमा प्रवेश गरें । हिन्दूस्तान समाचार, पाञ्चजन्य, जी न्यूजमा नेपालको प्रतिनिधि भएर काम गरें । २०६९ सालमा पुनः तत्कालीन तमलोपाबाट सक्रिय राजनीतिमा प्रवेश गरें । अहिले राजपाको सह–महासचिवको रुपमा कार्यरत छु ।

  • मंसिरमा हुने निर्वाचनमा उम्मेदवारी दिने सोच छ कि छैन ?

मैले सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवारीको दावी गरेको छु । पार्टीले टिकट दियो भने म त्यही क्षेत्रबाट निर्वाचन लड्छु ।

  • एमाले–माओवादीको गठबन्धनपछि आजै राजपा–संघीय फोरमबीच साझा उम्मेदवारी दिने सहमति भएको छ । राजपा र संघीय फोरमबीच के कति सिट संख्यामा सहमति भएको हो ?

सीट संख्यामा सहमति भएको छ । वैचारिक रुपमा निर्वाचनमा मिलेर जाने सहमति भएको मात्रै हो । दुवै पार्टी तथा त्यहाँका स्थानीय नेताहरुको सम्मानजनक नेतृत्व हुने गरी २५ गतेभित्र यसको टुंगो लगाउनेछौं । सिट संख्या भन्दा पनि मुख्य कुरा मधेशको मुक्तिको सवाल हो । मधेशी जनताको हक अधिकार स्थापित गराउनका लागि जहाँ–जहाँ कम्प्रमाइज गर्नुपर्छ, दुवै दल त्यसका लागि तयार छन् ।

  • कांग्रेसले नेतृत्व गर्ने भनिएको बृहत् लोकतान्त्रिक गठबन्धनमा राजपाको पनि सहभागिताको कुरा आइरहेको छ । त्यसमा राजपाको के धारणा छ ?

हामी लोकतान्त्रिक गठबन्धनको विरुद्धमा छैनौं तर मधेशका जिल्लाहरुमा राजपा र संघीय फोरमले नेतृत्व पाउनुपर्छ । राजपा र फोरमबीच साझा उम्मेदवारीको कुरा सहमति पनि भइसकेको छ । नेपाली कांग्रेस हामीलाई मधेशमा नेतृत्व दिन कत्तिको उदार हुन्छ, हाम्रा मुद्दाहरुलाई कांग्रेसले स्वीकार गर्छ कि गर्दैन त्यो हेर्नुपर्छ । हाम्रो सरोकार भनेको मधेशको विभेदबाट मुक्ति र संविधान संशोधनमा छ, त्यसमा कांग्रेस कति लचक हुन्छ त्यसमा गठबन्धन हुने नहुने भर पर्छ ।

  • विशेषगरी २ नं. प्रदेशमा त मधेशवादी दल र कांग्रेसबीच नै प्रतिस्पर्धा छ नि ? कतै ‘इगो’ को समस्या आउने त होइन ?

मुख्य कुरा समस्या कहाँ छ भनेर हेर्ने हो । अहिलेको संविधानमा मधेशलाई विभेद गरिएको छ, लँगडो संविधान बनाइएको छ । मधेशी जनताको स्वाभिमानलाई संविधानमा स्वीकार गरिएको छैन । त्यसैले आम मधेशी जनता यस्तो संविधान बनाउनेहरुसँग गठबन्धनको विरोधमा नै छन् । हाम्रा लागि आगामी निर्वाचन निर्वाचन मात्रै होइन, लडाईं पनि हो । हामी कुनै सत्ता वा मन्त्री पदका लागि यो निर्वाचनमा उम्मेदवारी दिँदै छैनौं । आन्तरिक उपनिवेशबाट मधेशलाई मुक्ति दिलाउनका लागि यो निर्वाचनको लडाईंमा हामी होमिँदैछौं ।

तर राष्ट्रिय राजनीतिको स्वरुप हेर्दा एमाले–माओवादीको गठबन्धन बनाएको छ जुन मधेश विरोधी गठबन्धन हो । मधेश विरोधलाई नै राष्ट्रवाद सम्झने कम्युनिष्टहरुसँग निर्वाचन लड्नुपर्ने भएकाले र उनीहरुलाई परास्त गर्नका लागि बृहत् लोकतान्त्रिक गठबन्धनमा हामी जाने भनेका हौं । लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने कुरा मधेशी जनताको म्यान्डेट पनि होइन । मधेशी जनताको हक अधिकार स्थापित गर्नका लागि संसदमा धेरै भन्दा धेरै संख्यामा उपस्थिति कसरी गराउन सकिन्छ भन्नेतिर हाम्रो ध्यान केन्द्रित छ । लोकतान्त्रिक गठबन्धनमा सहभागी भएर त्यो हुन सक्छ भने हामी तयार छौं ।

  • कम्युनिष्टहरुको गठबन्धन पश्चिमा मुलुकहरुले गराएको भन्दै केही हिन्दूवादीहरु लोकतान्त्रिक गठबन्धनले हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दा बोक्नुपर्छ भन्ने आवाज उठाइरहेका छन्, यसमा तपाईंको के धारणा छ ?

धेरै पहिलेदेखि नै हिन्दू राष्ट्रको कुरा उठाइरहेको राप्रपा र कांग्रेसभित्रै पनि हिन्दू राष्ट्रका पक्षधहरुको खेमा भएका कारणले यो विषय उठ्न सक्छ । तर अहिलेसम्म सैद्धान्तिक रुपमै लोकतान्त्रिक गठबन्धनका दलहरुबीच यो विषयमा कुरा उठेको छैन । बाहिर–बाहिर प्रचारबाजी चलिरहेको छ । भोलि गठबन्धन बन्यो र त्यसले साझा घोषणापत्र बनायो भने त्यो बनाउने बेलामा यो कुरा उठ्ला, त्यसलाई त्यही बेला नै छिनोफानो गरिनेछ ।

  • हिन्दू राष्ट्रप्रति राजपाको ‘सफ्ट कर्नर’ त छ होला नि ?

कुनै व्यक्ति विशेष हिन्दू राष्ट्रका पक्षमा हुन सक्छ । तर अहिलेसम्म त राजपाले गणतन्त्र, धर्म निरपेक्षको पक्षमा आफूलाई उभ्याइरहेको छ, राजपाका दस्तावेजहरुमा त्यसलाई स्वीकारेको अवस्था पनि छ । त्यसैले अहिले नै हामी हिन्दू राष्ट्रको पक्षमा छौं भन्ने कुरा होइन ।

  • राजपाका वरिष्ठ नेता हृदयेश त्रिपाठी सहितका केही नेताले राजपा छाडे पछि पश्चिम मधेशका केही जिल्लामा राजपा कमजोर भएको आंकलन छ, त्यसलाई चिर्न तपाईंहरुले कस्तो रणनीति बनाउनु भएको छ ?

हृदयेश त्रिपाठीको नेपालको राजनीतिमा ठूलो नाम छ । उहाँ ‘मधेशवाद’ को मुद्दाबाट नै यति ठूलो राजनीतिक उचाई प्राप्त गर्न सफल हुनु भएको हो । उहाँको रौं–रौंमा मधेशवाद छ । केही कारणबाट उहाँले राजपा छाडे पनि उहाँको मुख्य उद्देश्य भनेको चुनाव जित्ने हो । एमालेको विचारबाट प्रभावित भएर एमालेसँग गठबन्धन गर्नु भएको पनि होइन । पश्चिम मधेशमा राजपाका हृदयेशजी बाहेक अन्य पनि नेता कार्यकर्ताहरु छन् । अरु पनि आकांक्षी छन् र काम गरिरहेका छन् । राजनीतिक दलमा व्यक्ति आउने र जाने त निरन्तर चलिरहन्छ, नेपालको इतिहासमा पनि त्यस्तो भएकै छ । त्यो गौण कुरा हो । यसले पूरै पार्टी नै सखाप हुन्छ, समाप्त हुन्छ भन्ने हुँदैन । उहाँको यो कदमबाट मधेशी जनता स्तब्ध छन् र यसबाट उहाँको व्यक्तिगत जीवनमा पनि लाभ हुँदैन ।

Leave a Reply