Tuesday, April 24, 2018
Home > मुख्य समाचार > स्वेच्छिक अवकाश चाहने कर्मचारीसँग निवेदन माग : के–के पाउँछन् सुविधा ?

स्वेच्छिक अवकाश चाहने कर्मचारीसँग निवेदन माग : के–के पाउँछन् सुविधा ?

पुस ३० । सरकारले शुक्रबारको राजपत्रमा एक सूचना प्रकाशित गर्दै फागुन १४ गतेसम्म स्वेच्छिक अवकाशमा जान चाहने निजामती कर्मचारीहरुसँग निवेदन माग गरेको छ ।

५० वर्ष उमेर पूरा भएका र जागिर २० वर्ष पूरा गरेका कर्मचारीहरुले आफ्नै कार्यालयबाट निवेदन दिने पाउनेछन् । एकपटक निवेदन दिएपछि सो प्रक्रियाबाट पछि हट्न भने पाइने छैन ।

निलम्बनमा रहेका, विदेशमा भ्रमण, तालिम वा अध्ययनमा रहेका वा विभागीय कारवाहीको प्रक्रियामा रहेका कर्मचारीले भने निवेदन दिन पाउने छैनन् ।

के पाउँछन् सुविधा ?
स्वेच्छिक अवकाशमा जान चाहने कर्मचारीले कार्यरत अन्तिम ग्रेड बराबरको सात वर्षसम्मको निवृत्तिभरण एकैपटक पाउनेछन् । सात वर्षपछि नियमित रूपमा कानुनअनुसार पाउने निवृत्तिभरणको सुविधा पनि उनीहरूले पाउने सरकारले प्रकाशन गरेको राजपत्रमा उल्लेख छ ।

अवकाश योजनामा भनिएको छ, ‘स्वेच्छिक अवकाशमा सहभागी हुने कर्मचारीलाई सात वर्षको निवृत्तिभरण एकमुष्ठ रूपमा स्वेच्छिक अवकाश लिँदाका बखत दिइनेछ र सो अवधि भुक्तान भएपछि पचलित कानुनबमोजिम निवृत्तिभरण दिइनेछ ।

सुविधा दिँदा सरकारले नेपाल स्वास्थ्य सेवा तथा संसद्का कर्मचारी र २०४९ कात्तिक २१ भन्दा अघि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीका हकमा ६० वर्षको उमेर ननाघ्ने गरी सेवा अवधि गणना गर्नेछ । २०४९ कात्तिक २१ पछि सेवा प्रवेश गर्नेको हकमा ५८ वर्ष ननाघ्ने गरी सेवा अवधि थप हुनेछ । सेवा अवधि थप हुँदा नियमअनुसारको तलब वृद्धि हुनेछ ।

यस्तै, स्वेच्छिक अवकाशका लागि निवेदन दिने अन्तिम दिनसम्म निजामती सेवा ऐनअनुसार नियमित बढुवामा पर्नसक्ने कर्मचारीलाई एक श्रेणी बढुवा गरी सुविधा दिइनेछ । स्वास्थ्य र संसद् सेवाका कर्मचारीको हकमा पनि यो व्यवस्था लागू हुनेछ ।

Leave a Reply