Tuesday, April 24, 2018
Home > अन्तर्राष्ट्रिय > मलेसियामा अवैध रुपमा काम गरिरहेका कामदारलाई खुशीको खबर

मलेसियामा अवैध रुपमा काम गरिरहेका कामदारलाई खुशीको खबर

पुस २३ । मलेसियामा अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदारलाई स्वदेश फर्कन दिएको समयावधि मलेसिया सरकारले पुनः ६ महिनाका लागि थप गरेको छ । पछिल्लो पटक गत वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समयावधि दिएकामा सो अवधि सकिएलगत्तै उसले पुन अर्को ६ महिना अर्थात् यस वर्षको जुन ३० सम्मका लागि समयावधि थप गरेको छ ।

करीब २० लाख आप्रवासी कामदार वैधानिक रुपमा कार्यरत रहेको मलेसियामा अझैं लाखौं कामदारहरु अवैधानिक अवस्थामा कार्यरत रहेको अनुमान छ । मलेसियामा करीब ४ लाख नेपाली वैधानिक रुपमा कार्यरत रहेको र हजारौं नेपाली अवैधानिक अवस्थामा कार्यरत रहेको हुन सक्ने ठानिएको छ । मलेसियाले त्यस्ता कामदारको संख्या घटाउन फिर्ती कार्यक्रमको समयावधि पटक–पटक थप गर्दै उनीहरुविरुद्ध खोजी अभियान समेत चलाउँदै आएको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुुसार माइइजी सर्भिसेज बर्हाड लगायत विभिन्न ८ कम्पनीहरुले मलेसियाली अध्यागमन विभागसँग सहजीकरण गरी गैरकानूनी कामदारलाई घर फर्काउन सरकारी अनुुमति पाएका थिए ।

विगत एक वर्षको अवधिमा करीब १६ हजार अवैधानिक नेपाली कामदार स्वदेश फर्किसकेका दुतावासले जनाएको छ । मलेसियाली सरकारले दिएको सो कार्यक्रमको मौका छोप्दै उनीहरु स्वदेश फर्केका हुन् । हाल दैनिक सय जनाको हाराहारीमा नेपालीहरु स्वदेश फिर्तीका लागि यात्रा अनुमतिपत्र लिन दुतावास पुग्ने गरेका छन् । यात्रा अनुमतिपत्र लिएपछि उनीहरु आउटपासका लागि अध्यागमन विभागमा जानुपर्ने हुन्छ । तर उनीहरु पक्राउ परिने डरले आफैं अध्यागमन विभाग जादैनन् । त्यहाँ जान अधिकांश दलालको साहारा लिने गरेका छन् भने कतिपय सहजीकरणका लागि सरकारी मान्यता पाएका कम्पनीका प्रतिनिधिको सहारामा आउटपास लिन पुग्ने गरेका छन् ।

 

Leave a Reply